Section 72
सम्झौता सम्बन्धी व्यवस्था
यस ऐन बमोजिम राष्ट्र बैंकले आदेश दिएकोमा बाहेक गाभ्न वा गाभिन वा प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएका बैंक वा वित्तीय संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा देहायका विषयहरु खुलाई सम्झौता गर्नु पर्नेछः–
(क) निक्षेपकर्ता, साहु तथा शेयरधनीहरुको हित संरक्षण सम्बन्धी व्यवस्था,
(ख) बैंक वा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन पद्धति र मिलान सम्बन्धी व्यवस्था,
(ग) लगानी तथा कारोबारको व्यवस्थापन, अन्तरसंस्था स्वामित्व तथा अन्तरसंस्था लेनदेन विवरण, जमानत वा प्रत्याभूतिको विवरण, गैर बैंकिङ्ग कारोबारको व्यवस्थापन, सम्पत्ति र दायित्वको उचित व्यवस्थापन,
(घ) गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रिया, लाग्ने समय र लागतको विवरण,
(ङ) सञ्चालन तथा व्यवस्थापन संरचना र सञ्चालकको नामावली,
(च) गाभ्न, गाभिन वा प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त बैंक वा वित्तीय संस्था वा मूल संस्था र लक्षित संस्थाका कर्मचारीहरुको तह मिलान, सेवा सुविधाको मिलान गर्ने व्यवस्था,
(छ) उल्लेख्य स्वामित्व भएका शेयरधनी तथा अन्य शेयरधनीहरुको विवरण,
(ज) नयाँ बैंक वा वित्तीय संस्थाको रुपमा गाभ्ने, गाभिने भए सो संस्थाको नाम, प्रबन्धपत्र र नियमावली, पूँजी संरचना, पुनर्संरचना तथा वर्ग,
(झ) विदेशी बैंक वा वित्तीय संस्थाको हकमा सम्बन्धित नियमनकारी निकायको सहमति पत्र,
(ञ) विदेशी बैंक वा वित्तीय संस्थाको हकमा नेपालमा रहेको बैंक वा वित्तीय संस्थाको व्यवसाय प्राप्ति गर्ने वा त्यस्तो बैंक वा वित्तीय संस्थाको सम्पूर्ण व्यवसाय नेपालमा बिक्री गर्ने भए सो विषय,
(ट) सरोकारवालाको गुनासो व्यवस्थापन पद्धति,
(ठ) प्रचलित कानून र सोको पालना गर्न चालिने प्रक्रिया,
(ड) राष्ट्र बैंकले तोकेको अन्य आवश्यक विवरण ।